काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका असन्तुष्ट नेता डा. भीम रावल, बामदेव गौतम र घनश्याम भुसाललाई पार्टीमा समाहित गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । जनवर्गीय संगठन र प्रवास कमिटीका नेताहरुसँग बिहिवार जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साथीहरुसंग यस्तो ब्रिफिङ गरेका हुन् ।
उनले पार्टी बनाउने आँट अझै कायमै रहेको भन्दै निराश नहुन पार्टी पंक्तिलाई आग्रह गरे । उनले घनश्याम भुसाल नेकपा एसमा समाहित हुन तयार रहेको र भीम रावलले भोलि बसौं भनेको भन्दै वामदेव गौतम पनि सकारात्मक रहेको बताए । नेता नेपालले पार्टीमा महाधिवेशन गर्ने विषयमा पनि कुरा उठिरहेकाले त्यसको तयारी पनि गरिने बताएका छन् ।
साथै उनले प्रचण्ड सरकारलाई विश्वासको मत दिने संकेत पनि गरेका छन् । सरकारमा जानेबारेमा नेपाल आशावादी देखिएको बैठकमा सहभागी एक नेताले बताए । अहिले माधव नेपाल र झलनाथ खनालले सुझाव लिइरहेका छन् ।













