धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले आफ्नो कार्यकालमा गरिएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दैै उनले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो कार्यकालमा आशातित रुपमा काम भएको दाबी गरे । मन्त्री रावलले प्रदेश प्रहरी मुख्यालयको भवन निर्माण, मन्त्रालयमा सिसी क्यामेरा जडान, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि विभिन्न स्थानमा कार्यालय स्थापनालगायतका कामहरु भएको बताए ।
उनले आफ्नो कार्यकालमा पारित तथा संशोधन भएका विधेयकका विषयमा पनि जानकारी दिए । सुदूरपश्चिम कांग्रेस संसदीय दलका निवर्तमान नेता रावल अघिल्लो वर्ष चैत्र २८ गते आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । त्यसअघि कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा थियो ।
यस पटक भने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मन्त्री रावल कैलाली क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा पराजित बने । अघिल्लो चुनावमा भने उनी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए ।













