धनगढी- कैलाली उद्योग वाणिज्य संघले भर्खरै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर आएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) अशोक सिंहलाई स्वागत गरेको छ । संघले शुक्रबार स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै डीआइजी सिंहको स्वागत गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष पुष्पराज कुँवरले डीआईजी सिंहलाई माला तथा खादाले स्वागत गरेका थिए । स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डीआईजी सिंहले प्रदेशको शान्ति सुरक्षामा ध्याने प्रतिबद्धता जनाए । यस क्षेत्रमा खुला सिमानाका कारण थुप्रै समस्या रहेको भन्दै उनले त्यसलाई व्यवस्थित गर्ने बताए ।
उनले पूर्व–पश्चिम हाइवे सुरक्षा व्यवस्था र शहरी सुरक्षा व्यवस्थालगायत १० बुँदे कार्य योजना बनाएर अगाडि बढ्ने बताए । नगरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरि सुरक्षा व्यवस्थामा काम गर्ने उनले बताए । नागरिक तथा मिडियामैत्री सेवा कसरी दिने भने विषयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
लागुऔषध सुधारगृह भवन निर्माण गरेर अपराधरहित समाजको सिर्जना गर्न आफू कटिबद्ध भएर लाग्ने डीआईजी सिंहले बताए । उद्योगी व्यवसायहरुसँग आगामी दिनमा समन्वय सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।
स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै संघका अध्यक्ष कुँवरले निजी क्षेत्रलाई शान्ति सुरक्षा दिन सक्यो भने व्यापार व्यवसायमा ठूलो टेवा पुग्ने बताए । भारतीय पर्यटकहरुलाई सिमानाकामा धेरै समस्या हुने गरेको भन्दै उनले त्यसको समाधानका लागि पहल गरिनुपर्ने उनले बताए । त्यसका लागि उद्योग वाणिज्य संघ सुरक्षा निकायसहित सबैसंग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ छ ।
कार्यक्रमको स्वागत मन्तव्य कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले गरेका थिए । स्वागत मन्तव्य राख्दै उनले यस क्षेत्रमा सञ्चालनमा रहेका होटलहरु १० बजे नै बन्द गर्नुपर्ने बाध्यताले गर्दा होटल व्यवसायहरु मारमा परेको बताए । भारतीय पर्यटकहरु रातिसम्म आइराख्ने हुँदा राति १२ बजेसम्म होटल सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन डीआइजी सिंहलाई उनले आग्रह गरे ।














