एजेन्सी- स्वास्थ्यलाई ध्यान दिने हो भने दुध चिया भन्दा कालो चिया धेरै हदसम्म स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कुनै पनि भेटघाट होस् वा साथीभाईसँगको जमघट चिया पिउनु एउटा जीवनशैली जस्तो बनेको छ । यस्तोमा दुधको चिया भन्दा कालो चिया नै पिउनु फाइदाजनक छ । कालो चियाले शरीरलाई स्वस्थ राख्नेदेखि क्यान्सरजस्ता प्राणघातक रोगबाट समेत जोगाउन मद्दत गर्छ । यहाँ कालो चियाका केही फाइदाहरुबारे चर्चा गरौं ।
तौल नियन्त्रण
कालो चियामा एन्टीअक्सीडेन्ट तत्व हुन्छ । यसले हाम्रो शरीरको बोसो घटाउने काम गर्छ । नियमित कालो चिया पिउनाले शरीर मोटो हुन पाउँदैन । तर, चियामा दुध राख्यो भने एन्टीअक्सीडेन्टलाई कमजोर बनाउँछ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
भोक नियन्त्रण
कालो चिया पिउनाले छिटो भोक लाग्ने समस्या समाधान हुन्छ । यसले शरीरमा शक्ति समेत पैदा गर्छ, जसबाट हामी लामो समय क्रियाशिल रहन सक्छौं ।
पाचनप्रक्रिया बलियो
हाम्रो पाचन प्रणालीलाई व्यवस्थित गर्न कालो चियाले सघाउँछ । यसले पेटको रोग लाग्नबाट समेत बचाउँछ । ग्यास्ट्रिक, पेटको दुःखाई जस्ता समस्याबाट समाधानको लागि पनि कालो चियाले सघाउँछ ।
हार्ट स्ट्रोक नियन्त्रण
अमेरिकन हार्ट एसोसिएसनको अनुसन्धानको निष्कर्षमा बताइएको छ, कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । यसले हार्ट स्ट्रोकको खतरा न्यूनिकरण गर्न सघाउँछ । किनकि कोलेस्ट्रोल हार्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि
छिटो छिटो विरामी हुनु रोग प्रतिरोधी क्षमता कमजोर हुनुको परिणाम हो । त्यस्ता मानिसहरुका लागि कालो चिया लाभदायक हुन्छ । कालो चियाले शरीरको रोग प्रतिरोधी क्षमतालाई विस्तार गर्न सघाउँछ ।













