धनगढी- यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा अबको राष्ट्रपति सत्ता गठबन्धनबाट हुन्छ वा बाहिरबाट हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन ।
राष्ट्रपति निर्वाचनका कारण बर्तमान गठबन्धन धरापमा परेका बेला राष्ट्रपति पद कसको पोल्टामा जान्छ त्यसै भन्ने स्थिति नरहेको हो । यही विषयमा साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक बार्ता भएको छ । तर यी दुई नेताबीच सहमति भने हुन सकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिमा अगाडि सार्ने पक्षमा देखिएको बताइएको छ । यद्यपि देउवा वा नेपाली कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । कांग्रेसका केही नेताहरुले भने देउवालाई प्रस्ताव स्वीकार गर्न सुझाइरहेको बुझिएको छ ।
ओली र प्रचण्डबीचको भेटका क्रममा पनि राष्ट्रपतिका लागि देउवा र एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम आएको बताइएको छ । ओलीले पोखरेललाई सत्ता साझेदार दलको साझा उम्मेदवार बनाउन चाहेका छन् । सोही अनुरुप ओलीले पोखरेललाई सघाउन प्रचण्डलाई प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले पनि पोखरेललाई स्वीकार गर्न सकेको छैनन् । उनले देउवालाई साझा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेका छन् । विहीबार भएको भेटका क्रममा दुई नेताबीच यही विषयमा लामो छलफल भएको हो । तर दुवै नेताहरू आ–आफ्नै अडानमा अडिग रहेपछि सहमति हुन सकेन । प्रचण्डले बरु पाखरेलको सट्टा ओलीलाई नै राष्ट्रपतिमा समर्थन गर्न सकिने अडान राखेको बताइएको छ ।














