काठमाडौं- प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध परेको उजुरीबारे अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विस्तृत छानबिन गर्ने भएको छ। भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा र अशोक सिंह हेका डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रहरी सेवामा प्रवेश गरेको उजुरी परेको छ ।
यस्तै अख्तियारको उजुरीको सम्बन्धमा प्रहरी प्रधान कार्यालयले समेत आन्तरिक छानबिन अघि बढाएको छ। अख्तियारले भने नागरिकताका सम्बन्धमा गृह मन्त्रालयले र शैक्षिक प्रमाणपत्रबारे आफैले विस्तृत छानबिन गर्ने जनाएको छ। अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले सिंहविरुद्ध परेको उजुरीबारे विस्तृत छानबिन गर्न मातहतलाई निर्देशन दिएको बताइएको छ ।
डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवर, दोस्रो नम्बरका टेकप्रसाद राई, तेस्रो नम्बरका सिंह र चौथो नम्बरका दीपक थापा आईजीपी पदका दाबेदार हुन्। वर्तमान प्रहरी नेतृत्व धिरजप्रताप सिंहको कार्यकाल आगामी चैतमा सकिँदै छ ।














