दार्चुला- जिल्लाको शैल्यशिखर नगरपालिकाले कृषि औजार खरिदमा १ करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको छ।
कृषि औजार खरिद कार्यक्रम अन्तरगत नगरपालिकाका मेयर विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी १ करोड हिनामिना गरेको भन्दै उजुरी परेको पाइएको छ।
उक्त आवमा संघ र प्रदेश सरकारबाट कृषि औजार खरिदका लागि १ करोड रुपयौँ बजेट आएको थियो। औजार खरिदका लागि टेण्डर गर्नुपर्नेमा मेयर धामीको ठाडो निर्देशनमा टेण्डर नगरी, औजार पनि खरिद नगरेर १ करोड रुपैयाँ स्वाहा पारिएको भन्दै अख्तियारमा उजुरी परेको थियो।
कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि कार्यालयले नगरपालिकासँग थप कागजात माग गरेको हो।
‘सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपिहरु स्पष्ट राय, प्रतिकृयासहित पत्र प्राप्त भएको मितिले १५ दिनभित्र कार्यालयमा आइपुग्ने गरी पठाउन’ अख्तियारले नगरपालिकासँग भनेको छ।














