काठमाडौँ- टिकापुर घटनामा संग्लन आरोपमा तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैद तोकिएका रेशम चौधरीलाई छाडिनु विवादास्पद रहेको राष्ट्रिय सभाको सांसद् हरिराम चौधरीले बताएका छन्।
शुक्रबार राष्ट्रिय सभामा बजेटमाथी चलेको छलफलमा बोल्ने क्रममा चौधरीले रेशम चौधरीलाई छाडिएर सोही मुद्धामा पक्राउ परेका अरु सामान्य थारु युवा तथा नेतालाई नछोडिनुमा शंका व्यक्त गर्दै यसले समाजमा अर्को वितण्डा मच्याउने प्रयास भएको बताएका छन्।
उनले भने, ‘टिकापुर घटनामा दुई दर्जन बढि पक्राउ परेका छन्। सर्वस्वसहित जन्मकैद पाएका रेशम चौधरीलाई छोड्दा अरु सामान्य थारु युवा तथा नेताहरुलाई किन छाडिएन ? सरकारलाई रेशम चौधरी निर्दोष लाग्छ भने सोही घटनाका अरु सामान्य थारु नेता किन जेलमा छन् ?’
उनले सरकारको यस कदमले समाजमा अर्को वितण्डा मच्याउने प्रयास भइरहेको भन्दै यस तर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।














