धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँलाई सम्मान गरिएको छ । प्रदेश प्रमुख कार्यालयमा आज आइतवार एक कार्यक्रमकाबिच अन्तर धार्मिक सद्भाव संघ, जिल्ला क्रिस्टियन समाज रुपन्देही र लुम्बिनी क्रिस्टियन समाजले प्रदेश प्रमुख मियालाई सम्मान गरेको हो ।
धार्मिक सद्भाव कायमा राख्ने उद्देश्यले मियाँको अध्यक्षतामा रुपन्देहीमा अन्तर धार्मिक सद्भाव संघ गठन गरिएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष प्रदेश प्रमुख नियुक्त भएपछि सम्मान गर्न रुपन्देहीको टोली कैलाली पुगेको हो ।
सम्मान ग्रहण पछि प्रदेश प्रमुख मियाँले मुलुकका धार्मिक सद्भाव सधैँ काय राख्नु पर्ने बताए । उनले अतिवाद र आतङ्कवादको कुनै धर्म नहुने भन्दै त्यस्ता विषयसँग धर्मलाई जोडे समाज विभाजित नगर्न समेत सबैलाई आग्रह गरेका थिए ।
‘अतिवाद र आतङ्कवादको कुनै धर्म हुँदैन । उनीहरू अवसरवादमा रमाउने गर्छन् । त्यसैले धार्मिक सहिष्णुता आवश्यक पर्छ’ उनले भने, ‘धार्मिक द्वन्द्व खतरनाक हुन्छ । पछिल्लो समय धार्मिक अतिवाद हाबी भइरहेको छ । त्यसलाई न्यून पार्न र समाजलाई सहिष्णु बनाउन अन्तर धार्मिक सद्भाव सङ्घको जन्म भएको हो ।’
कार्यक्रममा विभिन्न धर्मालम्बीहरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा अन्तर धार्मिक सद्भाव सङ्घकी उपाध्यक्ष चन्दा थापा लगायत सुरज थापा, सफर अलि मिया, गणेश घिमिरे, पत्रका ऋषि आजाद, सोभाकर पौडेल लगायतले मुस्लिम समुदायबाट नेपालकै पहिलो प्रदेश प्रमुख बनेकोमा नजीर मियालाई बधाई दिएका थिए ।
















