धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले धार्मिक र जातीय द्वन्द्व खतरनाक हुने भएकाले त्यस्तो गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउनेगरी काम गर्न आग्रह गरेका छन् ।
धनगढीमा अन्तरधार्मिक सदभाव संघ नेपाल रुपन्देहीले आइतबार आयोजना गरेको कार्यक्रममा उनले धार्मिक सहिष्णुतासाथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक हुने बताए । उनले कुनै धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने बताए ।
उनले भने, “पश्चिमा देशहरुले इस्लामलाई आतंकवादी भनेर बदनाम गरिरहेका छन्, यता कोहीले हिन्दुलाई अतिवादी आरोप लगाउनु गलत हो ।’ प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रुपमा शान्त भएको बताउदै सँधै शान्त राख्न सजग भएर अघि बढ्नु पर्ने बताए ।
















