काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबारे जथाभावी नबोल्न नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले हालको राजनीतिक अवस्था र गठबन्धनबारे जथाभाबी नबोल्न भन्दै बोल्दा ध्यान पुर्याउन नेताहरूलाई निर्देशन दिएका हुन् ।
‘अहिलेको राजनीतिक अवस्था यता र उता भइरहेको छ । हामी पनि सत्ता गठबन्धनमै छौँ’, बैठकमा अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य दिलु पन्तले रातोपाटीसँग भनिन्, ‘जथाभाबी बोल्दा राम्रो सन्देश जाँदैन, त्यसैले हामीले सोचविचार गरेर मात्र बोल्नुपर्छ ।’ बैठकमा पार्टीको १० औँ महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेज राजनीतिक, साङ्गठनिक, विधान र समाजवादी कार्यक्रम माथि पोलिटब्युरो सदस्यहरूले विचार राख्ने क्रम जारी छ ।प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चार बजेसम्म पदाधिकारी र स्थायी कमिटी सदस्यबाहेक २० जना पोलिटब्युरो सदस्यले प्रतिवेदनहरूमाथि आ–आफ्नो धारणा राखिसकेका छन् । बाँकी सदस्यहरूले धारणा राखेपछि पोलिटब्युरो बैठक आजै सक्ने तयारी छ ।रातोपाटी
















