बाजुरा- २५ जना अटाउने क्षमता भएको जिल्ला कारागार बाजुरामा हाल कैदी र थुनुवा गरी ७२ राखिएको छ । क्षमता भन्दा तेब्बर बढी मानिस राखिँदा खान, सुत्न र शौचालय जानसमेत समस्या भोग्नुपरेको कैदी विशाल बिकले बताए ।
पानीको अभाव भएको र सुत्ने ठाउँ नपुगेर राम्ररी निदाउन पनि नसकिएको कैदीबन्दीहरु बताउँछन् । क्षमता भन्दाबढी कैदी र थुनुवा राख्दा सुत्न त के सजिलोसँग बस्न पनि नमिल्ने अवस्था छ । जेलर अनिलकुमार तिवारीका अनुसार एउटा खाटमा पाँच÷छ जना सुत्नुपर्ने अवस्था छ । त्यस्तै खाटमाथि खाट राखेर पनि कैदीबन्दी सुताइएको छ ।
कारागारको प्रशासन भवन भाडामा लिएको घरमा राखिएको छ भने प्रहरी बस्ने भवन पनि जीर्ण छ । छाना चुहिने भएका कारण वर्षायाममा त्रिपालले ढाक्नुपर्छ । क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा सरुवा रोग फैलिने जोखिम रहेको छ ।
२०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण भइसक्दा पनि मर्मत वा नयाँ निर्माणका लागि पहल हुन नसकेको जेलर तिवारीले बताए ।कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् ।













