धनगढी- जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रुपमति डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।
आइतबार नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराएकी थिइन् । बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो । कांग्रेसलाई एमालेले समर्थन गरेको कारण टीकाकुमारीको जित निश्चित देखेपछि नाउपाले उम्मेदवारी फिर्ता लिएको हो ।













