धनगढी । कञ्चनपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको भीमदत्त नगरपालिका-१५ गोबरिया बस्ने ४० वर्षीय दीपेन्द्र चन्द रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
मंगलबार बेदकोट नगरपालिका-३ दैजीस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले विपरीत दिशाबाट आउँदै गरेको निज चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चन्दको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप र जिप साहु बेदकोट नगरपालिका-३ सामादैजी बस्ने बीरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको तथा जिप चालक फरार रहेकोले खोजी कार्य भइरहेको जनाइएको छ ।













