धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वन मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री शाहले बिहिवार उनलाई पद मुक्त गरेका हुन्।
मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले वन मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको बताएको छ। वन मन्त्रीको पदबाट चौधरीलाई हटाएर उनले मन्त्रालयको जिम्मेवारी आफू मातहतमा राखेका हुन्।
अनुदानमा पावर टिलर वितरणमा आर्थिक अनियमितता गरेको र किसानलाई ठगेको गुनासो आएपछि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन भनेका थिए। तर, वन मन्त्री चौधरीले अटेरी गरेपछि मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्।













