धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गलत मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुने बताएका छन् ।
शुक्रबार धनगढीमा आयोजित नेपाल वन प्राविधिक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘बजेट भित्र समेटिएका कुनैपनि कार्यक्रम, कुनैपनि योजना चलखेलका आधारमा, लेनदेनका आधारमा, अनावश्यक रुपमा वा आवश्यकता नभएका ठाउँमा बजेट विनियोजन भएको छ, भने त्यो कुनैपनि कार्यान्वयन हुँदैन’, मुख्यमन्त्री शाहले भने ‘हामी आफूले आफूलाई वर्तमान परिपेक्षमा बुझ्न सकेनौँ भने मुलुकको जिम्मेवारी र कर्तव्य के हो ? भन्ने बुझ्न सकेनौ भने हामीमाथि निरन्तर प्रश्नहरू आइरहनेछन्, उठिरहनेछन् सबैमा सचेत हुन र समयमा आफूलाई करेक्सन गर्न जरुरी छ ।’
‘बजेटका निर्माणका समयमा धेरै टिक्का टिप्पणीहरु आए, कुनै आग्रह वा कुनै पूर्वाग्रहले आएका हुनसक्छन म त्यतातिर जान्न, तर सहि के हो गलत के हो त्यो विश्लेषण गर्ने जिम्मेवारी तपाईहरुको काँधमा छ, सहि विश्लेषण गरी मलाई रिपोर्टिङ गर्नुहोला’ मुख्यमन्त्री शाहले भने ‘म त्यसलाई गम्भीरता पूर्वक लिन्छु। हामी सबै जिम्मेवार बनौँ ।’
मुख्यमन्त्री शाहले भने ‘सबैले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्न र इमान्दारीका काम गर्नु पर्दछ। सही मार्ग र सही पथमा आफूलाई उभ्याउँदै गर्दा एउटा मित्रका हिसाबले, एउटा नेतृत्व हिसाबले र एउटा सरकारका हिसाबले सधै जनताको पक्षमा रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’













