धनगढी । कैलालीको गोदावरी नगरपालिकाले ५८ ओटा कृषि यान्त्रिकरण मिनिटिलर (च्याम्फा) वितरण गरेको छ । कृषि शाखाको संयोजनमा बिहिबार नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख बीरेन्द्र भट्ट,उपप्रमुख शारदादेवी रोकाया तथा वडाअध्यक्षको उपस्थितिमा कृषक समूहका प्रतिनिधिहरूलाई कृषि यान्त्रिकरण मिनिटिलर हस्तान्तरण गरेको हो ।
नगर प्रमुख भट्टले मिनिटिलर हस्तान्तरण कार्यक्रममाबोल्दै किसानलाई प्रविधिमैत्री बनाउन चाहेको बताउँदै मेहनत गर्ने हातमा सहुलियत पुग्नुपर्छ भन्ने सोचसाथ ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको बताए । कृषिमा यान्त्रिकीकरण बढे मात्र उत्पादन वृद्धि र आत्मनिर्भरता सम्भव हुने उनले बताए ।
त्यसैगरी, नगर उपप्रमुख रोकायाले कृषकको माग र पालिकाको बजेटलाई ध्यानमा राखेर सबै कृषकका लागि पुग्ने गरी मिनिटिलर वितरण गरिएको बताइन् ।
कार्यक्रममा गोदावरी नगरपालिकाको कृषि शाखा प्रमुख नन्दी मल्लले जनताले राखेको माग र छनौट प्रक्रिया अनुसार नगरपालिकाले उपकरण वितरण गरेको जानकारी दिइन् ।
कार्यक्रममा कृषक समूहका प्रतिनिधिहरू, वडाध्यक्षहरू, कृषि शाखाका प्राविधिक र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।













