धनगढी । कैलालीमा लागुऔषध (खैरो हेरोइन)सहित चार जना पक्राउ परेका छन् । साेमबार उनीहरूलाई दुईवटा मोटरसाइकलसहित पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण व्युरो, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिक सु.प.प्र ०१००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ४ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाइकलमा सवार धनगढी–७ का १९ वर्षीय जीवन मल्ल र २७ वर्षीय आदित्य खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलमा प्र.३–०२–००७ प ५५२० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ३ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित मोटरसाइकलमा सवार धनगढी–१४ का २५ वर्षीय सुभम राना र सेवा रानालाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













