काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले मागेको स्पष्टीकरणको जवाफ दिएकी छैनन् ।
बहुमत सदस्यसहित बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो । तर २४ घण्टा बित्दा पनि श्रेष्ठले स्पष्टीकरण बुझाएकी छैनन् ।
स्पष्टीकरणको जवाफ नआएपछि नागरिक उन्मुक्ति पार्टीको अनुशासन समितिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारवाही सिफारिस गरेको छ । नाउपाका एक नेताले भने, ‘अनुशासन विभागले रञ्जिता श्रेष्ठलाई कारवाही गर्नुपर्छ भनी सिफारिस गरेको छ, सो सिफारिसबारे आज हुन गइरहेको राष्ट्रिय भेलामा छलफल हुन्छ ।’
श्रेष्ठमाथि के कारबाही हुने भन्ने विषयमा ती नेताले केही खुलाउन चाहेनन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता एवं राष्ट्रिय भेलाको संयोजक रामलाल डगौराले अध्यक्ष श्रेष्ठको बारेमा राष्ट्रिय भेलामा छलफल हुने र त्यहाँबाट आउने निर्णयको आधारमा आगडि बढ्ने बताए । अनुशासन समितिले गर्ने सिफारिसका आधारमा छलफल गरी निर्णय लिइने उनले बताए ।
नाउपाका बहुमत केन्द्रीय सदस्यले लिखित रुपमै केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष श्रेष्ठसँग माग गरेका थिए । तर उनले बैठक नबोलाएर कास्कीका वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक दिएर आफ्नो अधिकार सुम्पिइन् । त्यसपछि सोमबार बसेको केन्द्रीय समिति बैठकले रञ्जिता श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो ।रातोपाटीबाट













