धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन । २० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आज (बिहिबार) बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन ।
बिहिबार आह्वान गरिएको छैठौं अधिवेशनको २० औं बैठक साँझ ५ बजे बोलाइएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । नेपाली काँग्रेस संसदिय दलको सोमबार बसेको दलको बैठकमा काँग्रेस प्रदेश सभा सदस्यहरुलाई पक्षमा मत हाल्न ह्विप जारी गरिसकिएको छ ।
बुधबार नेकपा एमाले संसदिय दलको बैठकले पनि मुख्यमन्त्री कमलबहादुर शाहकै पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले बुधबार बसेको दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्ने निर्णय भएको बताए । उनले भने –‘बिहिबार साँझ ५ बजे बस्ने सभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको प्रस्तावमा एमालेका ११ जना प्रदेश सभा सदस्यहरुलाई पक्षमा मतदान गर्ने छौं ।’















