धरान । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासयी बन्दै गएको बताएका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबिबिएस विद्यार्थीहरुले शुक्रबार धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको बताए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले बिपी प्रतिष्ठानबाट पढेका चिकित्सकहरु जहाँजहाँ पुगेपनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए । स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ थियो ।















