धनगढी । मत्स्य विकास केन्द्र गेटाले लक्ष्यभन्दा बढी माछाका भुरा बिक्री वितरण गरेको छ । केन्द्रले गत आव २०८१/८२ मा लक्ष्यभन्दा बढी माछाका भुरा बिक्री वितरण गरेको हो ।
गत आवमा कार्यालयको चार करोड ह्याचरी विक्री वितरण गर्ने लक्ष्य रहेकोमा चार करोड २४ लाख ह्याचरी बिक्री वितरण गरिएको मत्स्य विकास केन्द्र गेटाका प्रमुख निर्मल खातीले जानकारी दिए ।
उनले ३० लाख फिङ्गर बिक्री वितरण गर्ने लक्ष्य रहेकोमा ३३ लाख ४२ हजार, ३० लाख फ्राइ विक्री वितरण गर्ने लक्ष्य रहेकोमा ३२ लाख ६२ हजार र चार सय केजी एरलिङ बिक्री वितरण गर्ने लक्ष्य रहेकोमा १० हजार केजी बिक्री वितरण गरिएको बताए ।
उनले मत्स्य विकास केन्द्र गेटमा उत्पादन भएका भुरा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला तथा प्रदेश बाहिरका जिल्ला वर्दिया,दाङ,सुर्खेत, कालिकोट लगायतका जिल्लामा समेत बिक्री वितरण हुने गरेको बताए ।
उनले भने ‘माग अनुसार पहाडी जिल्लामा पनि पठाउने गरेका छौँ । विशेष गरी सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा माछाका भुरा बिक्री वितरण हुने गरेको छ ।’ उनले विभिन्न जातका माछाका भुरा उत्पादन गरेर बिक्री वितरण गर्ने गरिएको बताए ।
केन्द्रले खासगरी कमन,ग्रास,सिल्भर,विगेट माछाका भुरा उत्पादन तथा बिक्री वितरण गर्ने गरेको उनले बताए । चालु आव २०८२/८३ को साउन महिनाको हालसम्म करिब ७२ लाख ह्याचरी,तीन लाख फिङ्गर र चार लाख फ्राइ बिक्री वितरण भइसकेको जानकारी दिए ।















