धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियाँस्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत १७ वर्षीया किशोरी याचना सेजवालको हत्या अर्को केटासँग बोल्दा भएको खुलेको छ। दुई जनाबीच प्रेम सम्बन्धमा आएको विवादपछि हत्या भएको खुलेको हो।
प्रहरीका अनुसार मृतक सेजवाल उक्त रेस्टुरेन्टमा १६ दिनअघि मात्रै काम गर्न थालेकी थिइन्। त्यही क्रममा किचनमा कार्यरत ३३ वर्षीय नृप साउदसँग उनी नजिकिइन्। प्रारम्भिक अनुसन्धानअनुसार केही समयअघि मात्रै साउदको वैवाहिक सम्बन्ध विच्छेद (डिभोर्स) भएको थियो।
डिभोर्सपछि तनावमा रहेका साउदको याचनासँगको सम्बन्ध प्रेममा परिणत भएपछि तनाव केही कम भएको प्रहरीको भनाइ छ।
नृपले आफ्नो डिभोर्स भए पनि अब जीवनमा याचनाले साथ दिने भन्दै पुराना दिन बिर्सिदै याचनासँगको सम्बन्धलाई प्रगाढ बनाउँदै अघि बढेको खुलेको छ। तर पछिल्ला केही दिनदेखि याचनाले अन्य केटासँग भिडियो कल, च्याट गर्ने गरेको देखेपछि साउद असन्तुष्ट बनेको प्रहरीले जनाएको छ। सोही कुराबाट दुईबीच मनमुटाव सुरु भएको थियो।
शुक्रबार राति मात्रै दुवै जनाबीच भाग्ने सहमति भएको तर अन्तिममा याचनाले भाग्न नमानेपछि नृप आक्रोशित बनेका थिए। शनिबार बिहान करिब १० बजे कामकै समयमा रेस्टुरेन्टभित्रै आक्रोशित साउदले याचनालाई धारिलो चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी याचनालाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भयो।
याचनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ। उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।













