बैतडी । पहिरोका कारण बैतडीमा घरपुरिदा १३ पशु चौपाया पुरिएका छन् । आईतबार राती परेको अबिरल बर्षाका कारण सुर्नया गाउँपालिका–२ चौपातामा गिरिस चन्दको दुईतले १२ कोठे घर पहिरोले पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दिपक कुमार रायले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिए। घरभित्र पुरिएकी उनको उद्धार गरी जिल्ला अस्पताल ल्याइएको यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको उनले बताए।
पुरिएका पशुचौपाया मध्ये चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी रहेका छन् । साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएको उनले बताए । मानवीय क्षति नभएको र लगातारको वर्षाले पहिरो र ढुङ्गा खसिरहेकाले उद्धारमा समस्या भएको उनले बताए ।













