धनगढी । पहिरोका कारण केआई सिंह राजमार्ग अन्तरगत पर्ने डडेल्धुरा–दिपायल सडक खण्ड अवरुद्ध भएको छ । केआई सिंह राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सोमबार बिहानबाट सडक खुलाउने प्रयास भइरहेको भएपनि माथिबाट ढुंगा र माटो खसिरहेका कारण सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिष्टले बताए ।
उनले भने ‘बिहानैदेखि जेसिबी लगाएर सडक खुलाउने प्रयास गरिरहेका छौँ । बिहान एक चरण खोलिसकेर ४/५ वडा गाडी पनि पास गराएका थियौँ । पानी निरन्तर परिरहेकोले माथिबाट ढुंगा माटो खसिरहेको छ । अहिले आवतजावत पूर्णरुपमा बन्द छ ।’
जेसिबी र प्रहरी त्यहाँ खटिरहेको र पानी पर्न बन्द भएपछि सडक खुलाउन प्रयास गरिने उनले बताए ।













