धनगढी । कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडाले सडकबाटै सेवा सुरु गरेका छन् । वडा नम्बर ३, १०, ११ र १२ ले आजदेखि सडकबाटै सेवा प्रवाह गरेका हुन् ।
चौकीडाँडा फल्टुडे सडक खण्ड निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको विरोधस्वरुप ४ वटै वडाका वडाध्यक्षहरुले आजदेखि संयुक्त रुपमा सोही सडकखण्डमा रहेको चाक्लेखोलामा वडाका कामकारबाहीहरु सडकबाटै सञ्चालन गरेका हुन् ।
उनीहरुले पटक पटक आवाज उठाउदा पनि ठेकेदारले लापरबाही गरेका कारण सडक निर्माणका लागि दवाव दिन सडकबाटै वडा कार्यालय सञ्चालन गरिएको बताएका छन् ।
६ वर्षसम्म पनि सडक निर्माण नहुँदा ३, १०, ११ र १२ का बासिन्दाले सास्ती खेप्नु परेको भन्दै वडाध्यक्षहरू सामूहिक दबाव मुलक आन्दोलनमा उत्रिएका हुन् ।













