कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेलकुदको समग्र विकासका लागि स्पष्ट नीति तथा खाका तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशव्यापी विद्यालय स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८२को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई प्राथमिकता साथ अघि बढाइने बताए ।
मुख्यमन्त्री शाहले सबै क्षेत्रमा एकै पटक बजेट विनियोजन गर्न नसकिए पनि प्राथमिकताका आधारमा क्रमिक रूपमा विकास कार्य अघि बढाइने उल्लेख गरे। खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बनेको उल्लेख गर्दै उनले खेलकुदको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
यस प्रतियोगितामा कैलाली र कञ्चनपुरका सरकारी तथा निजी विद्यालयहरूका ४८ टिम सहभागी छन्। जसमध्ये छात्रतर्फ ३२ टिम र छात्रातर्फ १६ टिम छन्। प्रतियोगिता मंसिर १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।













