धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले मुक्त हलिया,कमैया,कम्लहरीका समस्या समाधानका लागि प्रतिवद्ध भएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले धनगढीमा आयोजना गरेको मुक्त हलिया,कमैया,कम्लहरी पुनःस्थापनाका सवालमा सरोकारवालाबीच एक दिवसीय प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘हामी सबै समस्या समाधानका लागि प्रतिवद्ध छौँ । हामी लागेका छौँ । मुक्त हलिया,कमैया,कम्लहरीका आयाअर्जनका कार्यक्रममा जोड दिएका छौँ । विभिन्न कृषि र पशुका अनुदानका कार्यक्रम सञ्चालन गरेका छौँ ।’
बर्षौदेखिको यो समस्या समाधान गर्नमा आफ्नो विशेष जोड रहेको बताए । उनले मन्त्रालयले सबै पालिकामा समान हिसाबले बजेट विनियोजित गरेको बताए । उनले भने ‘एक पालिका दुई उत्पादन लागू गरेका छौँ । ८८ वटै पालिकामा कृषिका फरकफरक कार्यक्रम गारिरेका छौँ ।’
प्रदेश सरकारले मुक्त हलिया,कमैया,कम्लहरी लक्षित कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सूचना लिनमा कृषक अग्रसर हुनुपर्ने बताए ।
मुक्त हलिया,कमैया,कम्लहरी, आरक्ष पीडित जमीनको समस्या रहेको बताउँदै यो समस्या समाधानका लागि मन्त्रालयले एकीकृत भूमि नीतिको ड्राफ्ट गरेको बताए । उनले ड्राफ्ट अन्तिम चरणमा पुगेको बताउँदै छिट्टै क्याविनेटमा पेश गरिने बताए ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य हरि श्रीपाइलीले बाँकी मुक्त हलिया पुनःस्थापनको लागि तीनै तहका सरकारले जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
उनले भने प्रदेश सरकारले ल्याएको मुक्त हलिया,कमैया,कम्लहरी पुनःस्थापना कार्यविधिको यथासिघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । हलिया,कमैया,कम्लहरी पुनःस्थापनाको व्यस्थापन समितिको पूर्णता दिएर सरकारले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले मुक्त हलिया,कमैया,कम्लहरीका समस्या समाधानका लागि सबैले आआफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । उनले कृषि मन्त्रालयमा बजेट कम भएपनि सबै क्षेत्रलाई समेट्नु पर्ने बाध्यता रहेको बताए । उनले भने ‘केही काम चाहेर पनि गर्न नसकेको अवस्था छ । मन्त्रालयले समस्या समाधानका लागि जोड दिन्छ ।’
उनले हरेक नागरिकले संविधानमा भएका व्यवस्थाअनुसारका अधिकार पाउनुपर्ने बताए ।
मन्त्रालयको भूमि शाखाका प्रमुख मकर खातीले लक्षित वर्गका लागि विगतभन्दा बजेट बढेको बताउँदै विभिन्न संघ संस्थासंगको सहकार्यमा आवस निर्माणका काम गरिने बताए ।
कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि विकास अधिकृत टेकबहादुर बिष्टले कृषि मुख्य कुरा भएको बताउँदै कृषि क्षेत्रमा प्रदेश सरकारले गम्भीरताका साथ लागेको बताए ।
एक्सन एडका सरोज पोखरेल मुक्त हलिया,कमैया,कम्लहरीको क्षेत्रमा बजेट कार्यान्वयन समस्या रहेको र लाभान्वित हुनु पर्ने समुदाय लाभान्वित हुन नसकेको बताए ।
वरिष्ठ पत्रकार मनमोहन स्वारले मुक्त हलिया,कमैया,कम्लहरीको रुचीअनुसारको सीप दिनुपर्ने र आर्थिक सामाजिक जीवनमा परिवर्तन, गर्नमा सरकारले जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै दार्चुलाका दानिराम तिरुवाले स्थानीय तहले पुनःस्थापनाका लागि बजेट अभाव भएको बताउने गरेको बताए । हलियासंग जग्गा नभएका कारण कृषिको अनुदानबाट बञ्चित हुनुपरेको बताए ।
राष्ट्रिय मुक्त हलिया समाज कैलालीका अध्यक्ष भोजबहादुर सार्कीले दलितको दूध विक्री हुँदैन भने भैंसीको अनुदानका नपाइएको गुनासो गरे ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार केन्द्र सरकारले २०७६ मा पुनःस्थापनाको वित्तीय हस्तान्तरण स्थानीय सरकारलाई दिई सकेको अवस्थामा स्थानीय सरकारले अहिले सम्म चासो नदिएको बताए ।
राष्ट्रिय मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष भरत सार्की मुक्त हलियाको पुनःस्थापनामा सरकारले छिटो जोड दिनुपर्ने बताए ।
गैससंघ कैलाली अध्यक्ष चेतमान साउदले हलिया मुक्ति घोषणा भएको लामो समय हुँदा अहिलेसम्म पुनःस्थापनाका काम पूरा नभएको बताउँदै प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै मुक्त कमैया महिला विकास मञ्चकी पूर्व अध्यक्ष कोशिला चौधरीले मुक्तिको लामो समय हुँदा पनि मुक्त हलिया,कमैया,कम्लहरीको पुनःस्थापनाको काम पूरा नभएको बताउँदै प्रदेश सरकारले ल्याएको कार्यविधि कार्यान्वयन गरेर पुनःस्थापनामा जो दिनुपर्ने बताइन् ।
डोटीका बजिर नेपाली परिचयपत्र पाएकाले सुविधा नपाएकाले छिट्टै सुविधा दिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले मुक्त हलियाको पुनःस्थापनाको काम अन्तिम चरणमा पुगेको बताउँदै सरकारले चाहे १/२ वर्षमै पूरा हुने बताए । यसका लासग तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै महासंघकी कोषाध्यक्ष ईन्दिरा ताम्राकारले मुक्त हलियाको पुनःस्थापनामा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले लामो आन्दोलनपछि हलिया मुक्तको घोषणा भएपनि अहिलेसम्म पुनःस्थापना पूरा नभएको बताइन् ।
कार्यक्रममा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका कार्यकारी निर्देशक हरिसिंह बोहराले प्रदेश सरकारले ल्याएको मुक्त हलिया,कमैया,कम्लहरीको पुनःस्थापना कार्यविधि २०८० र चालु आवमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका बारेमा प्रस्तुतिकरण राखेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ र कर्णाली प्रदेशका ५ जिल्लाका सरोकारवालाको सहभागिता रहेको थियो ।















