धनगढी । धनगढी उपमहानगरपालिका-१ स्थित जेन्जी मार्गमा रहेको पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड स्थापना गरिएको छ । उक्त बोर्डको आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एक समारोहका बीच उद्घाटन गरे ।
डिजिटल बोर्डमार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । आधुनिक प्रविधिको प्रयोगले धनगढीको सौन्दर्य अभिवृद्धि गर्नुका साथै सूचना तथा सन्देश प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा उपमहानगरपालिकाले लिएको छ ।
उक्त डिजिटल बोर्डमा सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू र उपमहानगरका विभिन्न रचनात्मक कार्यक्रमहरू प्रदर्शित गरिनेछ । यस प्रविधिले धनगढीको पहिचानलाई थप आकर्षक बनाउनुका साथै पर्यटन प्रवर्द्धन र ‘प्रविधिमैत्री सहर’ निर्माणको अभियानमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ ।
उपमहानगरपालिकाले समृद्ध, सुन्दर र आधुनिक धनगढी निर्माण गर्ने लक्ष्यअनुरूप डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
उद्घाटन समारोहकै अवसरमा उपमहानगरपालिकाद्वारा तयार पारिएको ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ मूल नारा अंकित २३ वटा प्रवर्द्धनात्मक पुस्तिकाहरूको पनि विमोचन गरिएको थियो । ती पुस्तिकाहरूमा सुदूरपश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विस्तृत जानकारी समावेश गरिएको छ ।















