टंक कुंवर
धनगढी । कैलालीको कैलारी गाउँपालिका–४ भितरियाका कृषक मनिराम चौधरी बगरखेतीमार्फत आत्मनिर्भर बन्न सफल भएका छन्। करिब १५ कठ्ठा जमिनमा तरकारी खेती गर्दै आएका उनले अहिले आफ्नो परिवारको खर्च यही पेशाबाट सहजै धानिरहेका छन्।
मनिरामले सिजन अनुसार करेला, काक्रो, लौका, फर्सी र तरबुजा उत्पादन गर्दै आएका छन्।
उनले उत्पादन गरेका तरकारी स्थानीय बजारमै बिक्री हुने गरेको छ, जसबाट दैनिक करिब ५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। सिजनको समयमा भने डेढ लाख रुपैयाँसम्मको तरकारी बिक्री हुने उनले जानकारी दिए।
उनका अनुसार फर्सी प्रतिकेजी ५० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, लौका ५० रुपैयाँ, हाइब्रिड काक्रो ४० रुपैयाँ, लोकल काक्रो ५० रुपैयाँ र करेला १६० रुपैयाँमा बिक्री हुने गरेको छ। चार सदस्यीय परिवारका सबैजना यही व्यवसायमा सक्रिय रूपमा संलग्न छन्।
“झन्डै ५ वर्ष भयो, यही व्यवसायबाट घरखर्च चलाइरहेका छौं,” मनिराम भन्छन्, “पहिले आर्थिक अभाव धेरै थियो, अहिले विस्तारै सुधार हुँदै गएको छ।”
तर सफलताको यो यात्रामा चुनौती पनि कम छैनन्। उनले तरकारीको उचित बजार व्यवस्थापन नभएको, यातायात तथा अन्य साधन स्रोतको अभाव रहेको गुनासो गरे।
“बजारसम्म लैजान रिक्सामा धेरै खर्च लाग्छ, त्यसैले अहिले सडक किनारमै बेचिरहेका छौं,” उनले भने।
त्यसैगरी भारतीय कृषकहरूसँगको प्रतिस्पर्धाले पनि स्थानीय किसानलाई असर पारिरहेको उनको भनाइ छ। “हामीले ठेला लगाएर बेच्दा त्यही ठाउँमा भारतीयहरूले पनि तरकारी बेचिरहेका हुन्छन्। यदि उनीहरू नभएको भए हाम्रो आम्दानी अझ राम्रो हुन्थ्यो,” उनले दुखेसो पोखे।
मनिरामले कैलारी गाउँपालिकासँग बगर क्षेत्रमा विदेशी नागरिकलाई ठेक्का दिने व्यवस्था हटाउन माग गरेका छन्। आफूहरूले खेती गर्दै आएको जमिन कालिका माध्यमिक विद्यालयको रहेको र विद्यालयले वार्षिक ठेक्का आह्वान गर्ने गरेको उनले बताए। “भारतीयलाई पनि अनुमति दिँदा स्थानीय कृषकलाई समस्या भइरहेको छ,” उनले स्पष्ट पारे।
बगरखेतीबाट जीवनस्तर उकास्न सफल मनिराम चौधरीजस्ता कृषकका लागि उचित बजार, सहुलियत साधन र नीति समर्थन भए अझ राम्रो उपलब्धि हासिल गर्न सकिने देखिन्छ।













