धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलस्थित खोल्सामा रहेको जामुनको रुखमा झुन्डिएको अवस्थामा ३१ वर्षीय प्रहरी जवान राजेन्द्र सामन्त बुधबार बिहान करिब साढे ११ बजे फेला परेका हुन् ।
महाकाली नगरपालिका–९, दार्चुलाका स्थायी बासिन्दा सामन्तको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक रूपमा आत्महत्याको आशंका गरिएको छ । पारिवारिक कारणले उक्त घटना भएको हुन सक्ने अनुमान गरिएको छ । साथै, उनले पछिल्लो समय दोस्रो विवाह गरेको जानकारी पनि खुलेको छ ।
सामन्त सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा एक प्रहरी निरीक्षकका सहयोगीका रूपमा कार्यरत थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













