धनगढी । कैलाली अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन ।
आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका-२ मिलनचोक स्थितमा सोही वडाको आदर्श टोल बस्ने १८ वर्षीय अंकित गुप्ताले चलाएको सु.प.प्र.०१-००२ स ६११ नम्बरको अटोले बाटो काट्ने क्रममा घोडाघोडी नगरपालिका-८ बस्ने २२ वर्षीय दिनेश थापाले चलाएको सु.प.प्र.०१-००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका ८ “क” गाँउ बस्ने १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गोतामेलाई उपचारको लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जनाइएको छ ।
मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको तथा अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।














