धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले हरितालिका (तीज), २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले भाद्र शुक्ल तृतीयाका दिन हिन्दु नारीहरूले भगवान शिवको पूजा-आराधना गरी व्रत बस्नुका साथै नाचगानसहित हर्षोल्लासपूर्वक तीज पर्व मनाउने गरेको उल्लेख गरेका छन् ।
उनले अविवाहित महिलाले योग्य वर प्राप्तिको कामना तथा विवाहित महिलाले पारिवारिक सुख र दाम्पत्य जीवनको सफलताको कामना गर्दै व्रत बस्ने परम्परा रहेको बताएका छन् ।
सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा परापूर्वकालदेखि मनाउँदै आएको तीज पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुर्याउनुका साथै समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख मियाँले तीजले सामाजिक तथा सांस्कृतिक एकता, पारिवारिक प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले भने ‘पर्वले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना थप मजबुत बनाउँदै नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’














