धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्ने गरि काम गर्ने बताएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश संरचना आवश्यक छ भनेर प्रमाणित गर्ने गरी काम गर्नुपर्ने बेला आएको बताए ।
एकथरीले प्रदेशको संरचना अनावश्यक रहेको भाष्य निर्माण गर्दै यसको औचित्यमाथि प्रश्न उठाइरहेका बताउँदै उनले जनतामा व्यवस्थाप्रति नै असन्तुष्टि सिर्जना गर्ने प्रयास भइरहेको बताए ।
‘संघीयताको मर्ममाथि नै प्रहार गर्ने चलखेललाई परास्त गर्नुपर्ने ठूलो चुनौति छ’मुख्यमन्त्री भट्टले भने ‘साँचो अर्थमा राष्ट्रियता सुदृढ गर्न,जनअधिकारलाई संस्थागत गर्न र सार्वजनिक सेवा प्रवाहमा जनताको सहज र निर्वाध पहुँचका लागि प्रदेश संरचना आवश्यक छ भनेर प्रमाणित गर्ने गरी काम गर्नुपर्ने बेला आएको छ ।’
उनले प्रदेश सरकारको सफलताले नै जनयुद्धको औचित्यता सावित गर्ने,ऐतिहासिक जनआन्दोलन र थारुहट थारुवान आन्दोलनको मर्म स्थापित हुने तथा यो सरकारको कार्य सम्पादनको जगमा मात्रै पछिल्लो जेनजी आन्दोलनको संवेदनशीलता समेत समेटिने बताए ।
त्यस्तै,मुख्यमन्त्री भट्टले प्रदेश सरकारको प्राथमिकता सुशासन,दिगो विकास,उत्पादन, रोजगारी र जनताको जीवनमा प्रत्यक्ष परिवर्तन हुने बताए ।
उनले भने ‘विकासलाई केवल सडक,भवन र भौतिक संरचनामा सीमित राख्ने छैनौँ । गुणस्तरीय शिक्षा,सर्वसुलभ स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी,उद्यम र मानव विकासलाई पनि विकासको मुख्य आधार बनाउनेछौँ ।’
उनले आफ्नो मुख्यमन्त्री पद कुनै सत्ताको कुर्सी वा अधिकारको प्रतीक नभएको बताउँदै सुदूरपश्चिमका तमाम शोषित, उत्पीडित, उपेक्षित र स्वाभिमानी जनताको सेवा गर्ने एउटा पवित्र सङ्कल्प भएको बताए ।
‘सुदूरपश्चिम प्राकृतिक स्रोत,सांस्कृतिक सम्पदा,धार्मिक आस्था,ऐतिहासिक विरासत र प्रतिभाशाली जनशक्तिले सम्पन्न प्रदेश हो’ उनले भने ‘यति ठूलो सम्भावना हुँदाहुँदै पनि हाम्रो प्रदेशले अपेक्षित गति लिन सकेको छैन । अब हामीले सम्भावनालाई अवसरमा,अवसरलाई उत्पादनमा र उत्पादनलाई समृद्धिमा बदल्नुपर्ने समय आएको छ ।’
त्यस्तै,मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुरुप बजेट पुनर्लेखन गर्दै बजेट कार्यान्वयन गरिने बताए ।














