काठमाडौं – नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। आज भएको फाइनल खेलमा विराटनगरलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि कब्जा गरेको हो।
जितका लागि लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमा समेटियो। विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ तथा पृथु बाँस्कोटाले ३१ रनको योगदान गरे। हुसेन तलतले १३ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका हर्मित सिं र सागर ढकालले २/२ विकेट लिए। विपुल शर्मा र किशोरी महतोले १/१ विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो।लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ तथा हरमित सिंहले ३० रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले २० रन जोडे।
जितसँगै लुम्बिनीले ५५ लाख नगद पाएको छ भने पराजित भएपछि विरानगरले ३० लाख रूपैयाँमा चित्त बुझाएको छ।














