धनगढी- सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा सहभागी सबै दलहरुसंग हातेमालो गरेर अघि बढ्ने बताएका छन् ।
मंगलवार प्रदेश सभामा सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन् । सुदूरपश्चिम प्रदेश अहिले पनि राज्यको नजरबाट अझै टाढा रहेकाले प्रदेशको विकासका लागि गर्न सकिने कामका लागि सबै दलहरुसंग हातेमालो गरिने बताए ।
‘सुदूरपश्चिमको विकास मानव सुचाङ्कका हिसावले धेरै पछाडि परेको क्षेत्र हो,’ उनले भने, ‘प्रदेशको स्तर माथि उठाउँदै समृद्ध सुदूरपश्चिमका लागि सबै दललाई साथमै लगेर जानुछ ।’
विगतमा भए गरेका कामहरुलाई पनि निरन्तरता दिँदै प्रदेशलाई संघीयताको एउटा आधारको रुपमा स्थापित गर्ने नवनिर्वाचित सभामुख भण्डारीले बताए । उनले आफूलाई प्रदेश सभाको सभामुखमा निर्वाचन गराउने सबै प्रदेश सभा सदस्यहरु लाई धन्यवाद समेत व्यक्त गरे ।
सभामुख चयनका लागि मंगलबार प्रदेशसभामा भएको निर्वाचनमा २९ जना सांसदको समर्थनमा भण्डारी सभामुखमा निर्वाचित भएका हुन् । सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २० मत प्राप्त गरेका थिए ।
भण्डारीलाई माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ संसदले समर्थन गरेका थिए । रावललाई कांग्रेसका १९ तथा समाजवादीका ४ सांसदले साथ दिने भनेपनि उनले २० मत मात्रै पाए । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य छन् ।















