काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा च्याम्पियन भइसकेको स्कटल्यान्डलाई स्तब्ध बनाउँदै घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ।
शुक्रबार भएको दोस्रो खेलमा ओडिआई सिरिजअन्तर्गत ३ खेलअगावै च्याम्पियन बनिसकेको स्कटल्याण्डमाथि नेपालले ३ विकेटको जित निकालेको हो।
जितका लागि स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८५ रनको योगदान गरे। शतक प्रहार गर्नबाट चुकेका कुशल मल्लले ८१ रनको योगदान गर्दा सोमपाल कामीले २४ रन जोडे।
शीर्ष क्रमका नेपाली ब्याट्सम्यान छिटै आउट भएपछि खेलमा नेपाली टोली दबाबमा परेको थियो। विश्वकप लिग-२ मा यो दिपेन्द्रको पहिलो अर्धशतक हो। गुल्सन झाले १७ तथा कुशल भुर्तेलले १६ रन बनाए। आशिफ शेख ९ तथा कप्तान रोहित पौड्याल ६ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्ल पनि ४ रनमात्र बनाएर आउट भए।
नेपाली टोलीका ५ खेलाडी आउट भएपछि क्रिजमा आएका दिपेन्द्रले अडिएर खेल्दै कुशलसँग छैटौं विकेटका लागि एक सय रनको साझेदारी गरे। कुशलले ६७ बलको सामना गरेर ९ चौका र ४ छक्का हान्दै ८१ रन जोडे। १ सय १६ बल खेलेका दिपेन्द्रले ८ चौका र १ छक्का हान्दै अविजित ८५ रन जोडे।
बलिङतर्फ क्रिस सोल र मार्क वाटले ३र३ विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।
स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै अविजित १०७ रन जोडे। ज्याक जार्विसले २६ रन जोड्दा ब्रान्डन मिमोलन र क्रिस्टोफर म्याकब्राइडले २२/२२ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए। सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।
नेपालले पहिलो खेलमा मंगलबार नामिबियालाई २ विकेटले पराजित गरेको थियो। स्कटल्यान्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो। नेपालले भोलि (शनिबार) तेस्रो खेलमा नामिबियाविरुद्ध खेल्नेछ।













