काठमाडौं– हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर नै आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराईका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।













