धनगढी- कञ्चनपुरमा एक युवतीको सामूहिक हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्लाको पुनर्वास नगरपालिका–३ आईबिआरडि बजार बस्ने २७ वर्षीया लक्ष्मी घर्तीको हत्या अभियोगमा चार जना युवक डेढ महिनापछि पक्राउ परेका छन्। उनीहरूलाई मङ्गलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्करराज पन्तले ३० साउन २०८० बिहान आईबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने सडक क्षेत्रमा बेवारिसे अवस्थामा मृत भेटिएकी घर्तीको सामूहिक हत्या गरेको अभियोगमा आइतबार चार जनालाई पक्राउ गरिएको जानकारी दिए । मृत फेला परेकी लक्ष्मीको हत्या भएको भन्दै घर परिवारले प्रहरीलाई किटानी दिएका थिए ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय पर्शु राना रहेको प्रहरी निरीक्षक पन्तले बताए । हत्या संलग्न भनिएका लालझाडीका ३० वर्षीय राजकुमार राना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। २९ साउन साँझ ५ः३० बजेतिर लक्ष्मी घरदेखि मामा घर जान्छु भन्दै हिँडेकी थिइन। मामा घर जान्छु भन्दै घरदेखि हिँडेकी लक्ष्मी भोलिपल्टै आईबीआरडी बजारदेखि ‘घ’ गाउँ तर्फ जाने सडकमा मृत फेला परेकी थिइन।
शव परीक्षणका क्रममा टाउको, दाहिने कान लगायत शरीरमा चोट देखिएपछि प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान थालेको थियो । प्रहरी निरीक्षक पन्तकाअनुसार अनुसन्धानका क्रममा घर्ती घरबाट निस्किएको दिन हत्या आरोपमा पक्राउ परेका युवाहरूले ललाई फकाई गरी मोटरसाइकलमा राखेर लालझाडी गाउँपालिका–१ को लालझाडी जङ्गलमा हात्ती हेर्न तथा बनको रेखदेख गर्नका लागि लगेको पाइएको थियो ।
त्यहाँ बनाइएको काठको टहरामा घर्तीलाई लगेर मदिरा सेवन गराएपछि राति साढे १० बजेको समयमा उक्त टहराको तेस्रो तलाबाट लक्ष्मी घर्तीलाई उनीहरूले खसाएकाले देखिएको प्रहरीको भनाई छ । टहरोबाट खसालेपछि गम्भीर घाइते भएकी घर्तीलाई बेहोस अवस्थामा मोटरसाइकलमा राखेर मृतकको माइती घर नजिकै सडक किनारमा शव फालेर पाँचै जना भागेको खुलेको प्रहरी निरीक्षक पन्तले बताए ।
लक्ष्मीको हत्यामा संलग्न भएका पाँच मध्ये पक्राउ परेका चार जनालाई अदालतबाट पाँच दिनको म्याद थपेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने फरार रहेका राजकुमार रानाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू विरुद्धमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ । उक्त घटनामा थप अनुसन्धान हुने र केही तथ्यमाथि अनुसन्धान गरिने प्रहरीले बताएको छ।













