बझाङ- सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले भुकम्प प्रभावित क्षेत्रमा क्षेतिको अवलोकन गर्दागर्दै भुकम्प आएपछि मुख्यमन्त्री शाह सहितको टोली त्रसित बनेको थियो ।
बिहीबारदेखि सुदूरपश्चिमका मुख्यमन्त्री शाह गत मङ्गलवार गएको भूकम्पले पुर्याएको क्षतिको अवलोकन र पिडितलाई सान्त्वना दिनको लागि बझाङमा छन् । भुकम्प प्रभावित विभिन्न क्षेत्रको अवलोकन गरिरहेका मुख्यमन्त्री शाह शनिबार पनि बुंगल नगरपालिका वडा नं २ गिरौँमा स्थानिय कलक धामीको घरमा भुकम्पले पु¥याएको क्षतीको अवलोकन गरिरहेका थिए ।
उनले धामीको घरमा अवलोकन गरिरहेका बेला मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर विहान ११ बजेर ४५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हो । सोही बेला भुकम्प गएपछि मुख्यमन्त्री सहितको टोली र स्थानियनै त्रसित भएका हुन् ।
भुकम्पपछि केहिबेर अलमल परेका मुख्यमन्त्री शाहले पछि भने सबैलाई धैर्य गर्न र सुरक्षित रहन आग्रह गरे । उनले भुकम्पको जोखिम अझै पनि कायमै रहेकाले सबैलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै राहत लगायतको क्षतीपुर्तीका बारेका जानकारी दिए ।
यस विषयमा सरकारले निर्णय गरिसकेको र आफुले पनि प्रक्रिया अनुसार स्थानिय सरकार मार्फत राहत तथा क्षतीपुर्तीको व्यवस्थापन गर्ने आश्वासन दिए । उनले आज भुकम्प जानुभन्दा अगाडी नै विद्यालय, वडा कार्यालय भवन लगायत अन्य ठाउँहरुको अवलोकन गरेका थिए ।
















