कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय परिसरमा रहेका भन्सार छलिका विभिन्न मुद्दामा जफत गरिएका लिलाम सूचना लागेका प्रायःजसो सवारीसाधन (मोटरसाइकल) का पाठपुर्जा गायब पारिएको अवस्थामा पाईएका छन् ।
सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलिका विभिन्न मुद्दामा बरामद गरेका अवैध सवारी साधनहरू लिलाम हुन नसक्दा लामो समयदेखि भन्सार कार्यालयमै थन्किएका थिए ।
विगत चार वर्ष देखि लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको कञ्चनपुर भन्सार कार्यालयले स्थानीयहरूको चौतर्फी दबाब पछि पहिलो चरणमा यही असोज १ गते भन्सारमा थन्किएका तीन सय ६१ मोटरसाइकलको असोज २२ गते टेण्डर खोल्ने गरी लिलाम सूचना प्रकाशित गरेको थियो ।
टेण्डर खोल्ने मिति नजिकिँदै जाँदा यति बेला कञ्चनपुर भन्सार कार्यालय परिसरमा रहेका लिलाम सूचना लागेका प्रायःजसो सवारीसाधन (मोटरसाइकल) का पाठपुर्जाहरु झिकिएको अवस्थामा पाईएका छन् । कञ्चनपुर भन्सार कार्यालय परिसरमा पुरा पाठपुर्जा भएको एउटा पनि मोटरसाइकल छैन् ।
भन्सार कार्यालयले मोटरसाइकलको लिलामी सूचना प्रकाशित गरे पछि दैनिक जसो जिल्लाका स्थानीयहरू मोटर साइकल किन्ने मनसाय बनाएर भन्सार कार्यालय पुग्दछन् तर मोटरसाइकल हेर्छन् र मोटरसाइकलका पाठपुर्जाहरु गायब भएको देखेर बोलपत्र नै खरिद नगरी त्यत्तिकै फर्किने गरेका छन् ।
भन्सार कार्यालयको गोदाम देखी आँगन भरी मोटरसाइकल देखी जिप,कार र अन्य ठुला सवारीसाधन राखिएका छन् । नयाँ र पुराना सबै एकै ठाउँमा छन् । वर्षौँदेखि राखिएका ती सवारी साधन कतिपय जीर्ण पनि भइसकेका छन् ।
कतिपयका सामानहरू समेत निकाली सकिएका छन् । कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरू वर्षौँदेखि लिलाम हुन नसकेका कारण जीर्ण बन्दै गएका हुन् । कतिपय त कामै नलाग्ने समेत भइसकेका छन् ।
कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले लामो समय सम्म लिलाम नहुँदा सवारीसाधनहरूका केही पाठपुर्जाहरु बिग्रिएको हुनसक्ने भए पनि कार्यालयका कसै कर्मचारीले सवारीसाधनका पाठपुर्जा न निकालेको बताएका छन् ।
गड्डाचौकी भन्सार कार्यालयमा अहिले चार पांग्रे र दुई पांग्रे गरी ४ सय बढी सवारी साधन छन् । जसमा अधिकांश मोटरसाइकल छन् । चार पांग्रे सवारी साधन १५ मात्रै छन् । लामो समयदेखि सवारी साधन लिलाम नहुँदा मुख्य मुख्य पाठपुर्जाहरु चोरी भएर कामै नलाग्ने भएका छन् ।
















