कञ्चनपुर- इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उहाँका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो । शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा सुस्ताउनुभएको छ ।
“छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, उ कस्तो अवस्थामा छ रु केही थाहा छैन,” पदमाले भने, “चाँडोभन्दा चाँडो छोरालाई खोजेर घर ल्याउनुपर्यो ।” शिक्षण पेशामा सम्लग्न उनका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सर्नुभएको थियो ।
आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउछिन् । बुबा शिक्षणको क्रममा बझाङमा छन् । कोआमा र छोरी मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन् । छोरा सम्पर्कमा नआएपछि पदमा सम्हालिन सकेकी छैनन् ।
“शनिबार भिडिओकल भएको थियो, खाना खाँदैछु, आक्रमण हुनसक्ने भएकाले बङ्करमा लुक्न सूचना जारी भइरहेको छ भनेर भाइले भन्दै थियो,” विपिनका दाइ किशोरले भने, “त्यसपछि कुरा भएको छैन, उतायता फोन गरेका गर्यैछौँ, केही पत्तो लागेको छैन ।”
विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल जानुभएको थियो । शनिबारदेखि बेपत्ता रहनुभएको उनको अवस्था अझै अज्ञात छ । परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ ।
इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतङ्कवादी आक्रमणमा दस नेपाली विद्यार्थीको मृत्यु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट दुई चरणमा गरेर ४९ विद्यार्थी इजरायल गएका थिए ।
शनिबार बिहानदेखि इजरायलमा आक्रमण भइरहेको छ । इजरायलमा अध्ययनका लागि दुई सय ६५ नेपाली विद्यार्थी रहेकामा ४९ जना टीकापुर कृषि क्याम्पसका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा छन् । यस क्षेत्रमा हमास समूहले आतङ्कवादी आक्रमण जारी राखेको छ । रासस
















