कैलाली- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तीन दलका कारण देश उल्झनमा परेको बताएका छन् ।मेची-महाकाली जागरण अभियानअन्तर्गत कैलाली धनगढीमा भुसालले एमालेले चलखेल गरिरहेको र त्यो चलखेलबाट पार्टी अझै ओरालो लाग्ने दाबी गरेका हुन् ।
‘मुलुकमा आज एक खालको उकुसमुकुस छ । काङ्ग्रेस के गर्दैछ, अलमलमा छ । एमालेले अरु केही जान्दैन चलेखलमात्र जानेको छ’, उनले भने, ‘जति चलखेल हुन्छ, त्यही केपी ओलीको नेतृत्वमा एमाले ओरालो लाग्छ । माओवादी हामीले सोचे जस्तो अझै प्रष्ट हुन सकेको छैन ।’
उनले अहिलेको अलमल नतोडे मुलुकले असाधारण मूल्य चुकाउनुपर्नेसमेत बताए । भुसाल एमाले अध्यक्ष ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । लोकतान्त्रिक गणतन्त्र ओलीका कारण खतरामा परेको दावी गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टीको नाममा ओली र ओली गुट जन्मने छैन, फेरि लोकतन्त्रमा ओली जन्मिने छैन ।’
















