बैतडी- कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय बैतडी देशभरीकै उत्कृष्ट भएको छ। नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सूचांकहरुको आधारमा देशका ७७ जिल्लामध्ये ९४ दशमलव ५६ अंकसहित जिल्ला प्रशासन कार्यालय बैतडी उत्कृष्ट १० भित्र परेको हो। बैतडी लगातार दोस्रोपटक उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यसअघि गत वर्ष पनि बैतडी उत्कृष्ट १० भित्र अटाएको थियो।
गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय,सदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको हो।
कार्यसम्पादन मूल्याङ्कनमा देशभरिमा १० औँ स्थानमा परेर कार्यालय उत्कृष्ट हुँदा खुसी लागेको उनले बताए। सुशासन, विकास, सेवा प्रवाह, विपद् व्यवस्थापन, विकास व्यवस्थापन र समन्वयका सन्दर्भमा खटिने जिल्ला प्रशासन कार्यालय, बैतडीका सम्पूर्ण कर्मचारी तथा सञ्चारकर्मीहरुलाई प्रशासनले धन्यवाद ज्ञापन गरेको छ। गृहको कार्यसम्पादनमा गुल्मी देशभरबाटै उत्कृष्ट भएको छ।
















