धनगढी- नेकपा (माओवादी केन्द्र) अछामले प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सोमबार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा आछाम जिल्ला इन्चार्ज ओमप्रकाश पुनको नेतृत्वमा प्रजिअ पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो ।
आइतबारको असिना पानीले किसानको बाली नष्ट गरेको र उनीहरुलाई क्षतिपूर्तीको मागसहित ७ बुँदे माग राखेर ज्ञापनपत्र बुझाइएको जनाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ ‘आँधी हुरी र असिना पानीले जिल्लाका विभिन्न ठाउँमा भएको बालिनालीको क्षतीे विवरण संकलन गरि क्षतिपूर्तिको लागि पहल गरियोस्, भुकम्प र बाढी पहिरोका कारण भएको क्षतिको क्षतिपूर्ति र निर्माण कार्य पनि कतिपय ठाउँमा नभएको भन्ने जनगुनासो आएकोले त्यसका बारेमा पनि पहल गरियोस्’ ।
त्यस्तै ज्ञापनपत्रमा जिल्लामा विद्युत लोडसेडिङ अनियमित रुपले हुने गरेकोले समस्या समाधान गर्न पहल गर्न,दसैँ तिहारको समयमा सवारी भाडामा हुने मनपरीको अनुगमन गरि समस्या समाधान गर्न माग गरिएको छ ।
दसैँ तिहारको समयमा बजारमा अखाद्य पदार्थको बिक्रीवितरण, जुवातास र जाँडरक्सीको अनियमित प्रयोगका कारण धनजनको क्षति हुने सम्भावना हुने भएकोले त्यसको कडा अनुगमन र निगरानी गर्न पनि माग गरिएको छ ।

















