कञ्चनपुर- कञ्चनपुरमा रुख काटेको आरोपमा दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वन कार्यालयले थप दुई जनालाई पक्राउ गरेको हो।
सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्ट र पूर्व शिक्षक एवं बेलौरी भन्सार निर्माणका लागि पहलकर्ता केशवराज जोशीलाई पक्राउ गरेको जनाएको छ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले झाडी सरसफाइका नाममा रूख काटेको प्रकरणमा विष्ट र जोशीलाई पक्राउ गरिएको बताए।
उनका अनुसार उनीहरू विरुद्ध आज (बुधवार) मुद्दा दायर गरिने छ। यसअघि बेलौरी नगरपालिका–६ का वडाध्यक्ष भोजराज चौधरीलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो । अर्का आरोपी मदन सिंह बोहरा भने फरार रहेको वनले जनाएको छ ।
उक्त प्रकरणको सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले जिम्मेवारी पाएका थिए। गोलिया ११९ क्यु फिट र दुई चट्टा दाउरा वनले नियन्त्रण लिएको थियो । उनीहरू पाँचै जना विरुद्धमा बिना इजाजत रुख बिरुवा काटेको विषयमा मुद्दा दायर भएको छ। आज (बुधवार) थुनछेक बहस हुनेछ ।
















