धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलका रूपमा चिनिने खप्तड राष्ट्रिय निकुञ्ज चारवटा पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछामको बीचमा पर्छ । पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको क्षेत्रको रुपमा खप्तड चिनिएको छ ।
२०४२ सालमा घोषणा गरिएको खप्तड राष्ट्रिय निकुञ्ज २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्छ ।
यस निकुञ्जमा सल्ला, खसुर र निगालोका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ रतुवा मृग, कस्तुरी, मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुरका साथै डाँफे, मुनालजस्ता चराचुरुंगीहरू पाइन्छन् ।
समुद्र सतहबाट २ हजार ४ सयदेखि ३ हजार ७ सय मिटरसम्मको उचाइमा रहेको यस क्षेत्रभित्र त्रिवेणी धाम, सहस्र लिंग, बाबा आश्रम, बाबा कुटी, घोडा दाउन पाटन, खप्तड दह, डाँफेकोट, गणेश पाटन, नागढुंगा, छत्रेपानी आदि आकर्षक गन्तव्य छन् ।
यसका अलावा यस क्षेत्रमा २२ वटा ठूला पाटन र ५२ वटा झोता (रूखका थुम्का) रहेका छन् । प्राकृतिक धार्मिक र साँस्कृतिक विविधताले भरिएको खप्तड क्षेत्रमा गंगा दसहरा मेला र जनैपूर्णिमामा लाग्ने खप्तड जात्रा प्रसिद्ध रहेको छ ।
















