डोटी- डोटीमा रहेको प्रसिद्ध बडीकेदार अर्थात् ठुला केदारमा तीन दिनसम्म मेला लाग्ने भएको छ। धार्मिक एवं पर्यटकीय स्थल रहेको बडीकेदार धाममा तीन दिन धार्मिक मेला लाग्ने भएको हो।
बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले शुक्रवार,शनिवार र आइतबार तीन दिन मेला लाग्ने भएको जानकारी दिए।
डोटीको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिक स्थल बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजा गरिने बताइएको छ।
डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक,पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको छ।
बडीकेदार दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै दर्शन गर्न भक्तजनहरू आउने गर्दछन्। बडिकेदार धाममा तीनचार दिन अघि देखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने,विवाह,व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू गर्ने गर्दछन्।
बडीकेदार डोटी जिल्लाको बोगटान फुड्सिल तथा बडीकेदार गाउँपालिकाको सङ्गम स्थलका रूपमा रहेको छ। समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईको थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ।
बडीकेदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडासम्म सडकको राम्रो सुविधा रहेको छ। सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रे गरिएको हो।
सवारी पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिन्छ। मेलाको अवसरमा बडिकेदार गाउँपालिकाले मङ्सिर १० गते सार्वजनिक बिदा दिएको छ।

















