कञ्चनपुर- कञ्चनपुरमा भीमदत्त पन्तको सालिक तोडफोड गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका-१८ महेन्द्रनगरस्थीत भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गरिएको हो। शुक्रवार महेन्द्रनगरमा दिउँसो राप्रपा कञ्चनपुरले गणतन्त्रविरुद्धमा विरोध प्रदर्शन कार्यक्रममा सहभागी आन्दोलनकारीले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका हुन्।
अहिले भीमदत्त पार्क नामाकरण गरिएको उक्त पार्क राजा महेन्द्रले निर्माण गरेको भन्दै उनीहरूले सालिकमा क्षति गरेका हुन्। तोडफोडबाट शालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ। सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी शालिक तोडफोड रोकेका छन्। सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरी उनीहरूलाई तितरबितर गरेका थिए।
त्यसपछि उनीहरूले पार्क बाहिर प्रवेशद्वारमा पेन्ट लगाएर भीम वाटिकाको नाम मेटाई दिएका छन् । उनीहरूले गणतान्त्रिक व्यवस्थामा राजावादी, राजपरिवारको इतिहास मेटाएको भन्दै सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका थिए। पार्कभित्र ०७३ सालमा स्थापना गरिएको सालिक तोडफोड गरेर पूर्व राजा महेन्द्रको सालिक राख्ने भन्दै तोड्न थालेपछि प्रहरीले रोकेका थिए।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले सालिक तोडफोडमा संलग्न राप्रपा कार्यकर्ता नरेश कार्कीसहितका तीन जनालाई पक्राउ गरिएको बताए। तर, पक्राउ पर्ने अरूको नाम खुल्न भने बाँकी रहेको छ। एसपी थापाले शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गर्न नपाइने भन्दै थप संलग्नको खोजी भइरहेको जानकारी दिए।
राप्रपा नेता–कार्यकर्ताले पक्राउ परेकालाई निः सर्त रिहाइको माग गरेका छन्। उनीहरूले निः सर्त रिहाइ नगरे शनिवार देखी आन्दोलन गर्ने चेतावनी दिए। किसान नेता भीमदत्त पन्त १० मंसिर १९२६ मा जन्मिएका थिए। किसानकै छोरा किसान नेताको जन्मदिनको दुई दिनअघि राप्रपासहितका राजावादी समूहले सालिक तोडफोड गरेको विरोधमा विभिन्न राजनीतिक दलले भर्त्सना गरेका छन्।
उनीहरूले सालिक तोडफोड गर्ने अराजक समूहमाथि कारबाहीको माग गरेका छन्। राप्रपा कञ्चनपुरका नेता करन पालले किसान नेता भीमदत्त पन्तको सालिक तोड्ने योजना नभएको बताए। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण नै थियो,’ उनले भने, ‘एकाएक उत्तेजित भिडले तोड्यो। यो दु : खको कुरा हो। यसबारेमा हामी थप समीक्षा गर्छौँ।’













