धनगढी- कैलालीको धनगढीमा यही मंसिर २३ गते रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ । राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन २०८०’ हुन लागेको हो ।
आयोजक मञ्चले शनिबार पत्रकार सम्मेलन गर्दै ‘रानाथारु भाषा साहित्य सम्मेलन’को बारेमा जानकारी दिएको हो । मञ्चले यही मंसिर २३ साहित्य सम्मेलन हुने तथा सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।
रानाथारु भाषाको संरक्षण,जगेर्नाका लागि रानाथारु भाषा साहित्य सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजक पदमबहादुर रानाले बताए ।
उनले भने ‘संरक्षणको अभावमा भाषा नै लोप हुँदै जाने डर भएको छ’ । ‘यसमा भएका शब्द,साहित्य,मौलिकता बचाइ राख्न दुईचार वटा गीत,कविता लेखेर गाएर मात्रै नहुने भएको छ’ उनले भने ‘यो भाषा साहित्य संरक्षणका लागि नेपाल र भारतमा रहेका रानाथारु भाषा बोल्ने सबैलाई बोलाएर बृहत रुपमा छलफल गरिनेछ’ ।
सम्मेलनमा नेपाल र भारतबाट समेत रानाथारू बुद्धिजीवी, रानाथारू भाषाका ज्ञातालगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा मौलिक शब्द रक्षाको लागि विभिन्न लेखोट, सिलालेख, पुस्तक प्रकाशन तथा अनुसन्धान, लोकगीत संगीतको संरक्षणलाई समेत जोड दिइ रानाथारू भाषाको मौलिकता एवं एकरुपतामा विशेष जोड रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा रानाथारू भाषाका गीत, कविता, साहित्यिक रचना वाचनलगायत रानाथारू भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण तथा विविध लोक साँस्कृतिक प्रस्तुति एवं लोक स्रस्टाहरूको सम्मान गरिने जनाइएको छ । सम्मेलन धनगढीको रुवस होटलमा हुने तथा नेपाल र भारतबाट गरि १ सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । एक दिने सम्मेलनमा अन्य भाषाभाषीका साहित्यकारहरुलाई समेत बोलाइने मञ्चले जनाएको छ ।
















